‘काबुल ध्वस्त हुनबाट बचाउन म भागेँ’
अखबार टुडे
प्रकाशित:
२०७८, १६ पुष

काठमाडौं, १६ पुष । अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ घानीले काबुललाई विनाश हुनबाट बचाउन आफू देश छाडेर भागेको बताउँदै आफ्नो निर्णयको बचाउ गरेका छन् ।

उनले अगस्ट १५ को बिहान त्यो दिन अफगानिस्तानमा आफ्नो अन्तिम दिन भएको भन्ने कुनै भान नभएको बीबीसी रेडिओ फोरको टुडे कार्यक्रमलाई बताएका छन् । काबुल छोड्न विमानमा उडेपछि बल्ल आफूलाई देश छोडिरहेको जस्तो लागेको उनले बताए ।

‘तालिबानका दुई अलग–अलग समूह अलग–अलग दिशाबाट नजिक आइरहेका थिए र उनीहरूबीचको ठूलो द्वन्द्वले ५० लाख बासिन्दा भएको सहरलाई ध्वस्त बनाउने थियो र त्यसले मानिसमा ल्याउने विनाश ठूलो हुने थियो’, घानीले भने । त्यो दिन बिहान तालिबान लडाकुहरूले काबुल नछिर्न सहमति जनाएको तर दुई घण्टापछि परिस्थिती अर्को भएको घानीको भनाइ छ ।

उनले भने, ‘राष्ट्रपतिका सुरक्षा प्रमुख भयभीत हुँदै मेरो नजिक आए र समय निकै कम भएको बताए । त्यसपछि मैले खोस्त सहर जाने निर्देशन दिएको थिएँ तर उनले खोस्त जलालाबादमा तालिबानले कब्जा गरिसकेको उनले बताए । मलाई कहाँ जाने थाहा थिएन । विमान उडेपछि मलाई अफगानिस्तान छोड्दै गरेको थाहा भयो । त्यसैले यो सबै अचानक भएको थियो ।’

त्यस समयमा घानीले देश छोडेपछि उनका उपराष्ट्रपति अमरुल्लाह सालेहसहित थुप्रैले उनको आलोचना गरेका थिए । उनी अहिले संयुक्त अरब इमिरेट्स (यूएई) मा छन् ।
घानीले आफूसँग ठूलो धनराशि लगेको आरोप पनि लागेको थियो तर उनले त्यसलाई अस्वीकार गरेका छन् र आवश्यक परे अन्तर्राष्ट्रिय अनुसन्धानलाई स्वीकार्ने बताएका छन् । ‘म स्पष्ट भन्न चाहन्छु, मैले देशबाहिर कुनै पैसा लगेको छैन,’ उनले भने । ‘मेरो जीवनशैली सबैलाई थाहै छ । पैसाले मैले के गर्ने?’ ।

तीन महिनापछि पूर्वराष्ट्रपति घानीले काबुल तालिबानको कब्जामा जानका लागि भएका अन्तर्राष्ट्रिय साझेदारीमाथि विश्वास गर्ने जस्ता केही कामहरूको दोष लिन तयार भएको बताएका छन् । उनले राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिका र तालिबानबीच भएको सम्झौताले अगस्ट १५ को घटनाका लागि बाटो बनाएको बताए ।

घानीका अनुसार जसरी सम्झौताहरू भए त्यसले हामीलाई मेटिदियो । अन्तिममा जे भयो त्यसलाई गनीले हिंसात्मक ‘कू’ भन्दै त्यसमा नागरिकहरू संलग्न हुने राजनीतिक सहमति वा प्रक्रिया नभएको बताए ।

प्रतिक्रिया