काठमाडौं, १५ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् ।
मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान)सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताएका हुन् ।
उनले क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनिएकाले सन्दीप लामिछाने नै कप्तान रहने बताए ।
क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । दसानायकेले खेलाडीको वर्गीकरणका विषयमा भने आफूले सक्दो पहल गर्ने उल्लेख गर्दै विश्वकप छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने तयारी भइरहेको बताए ।
प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । क्यान र खेलाडीबीचको तिक्ततालाई समाधान गर्दै अगाडि बढाउन सक्ने प्रशिक्षक हुन सक्ने भन्दै क्यानले दोस्रो पटक पुबुदुलाई मौका दिएको हो । पुबुदुकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो ।