चर्चित र्‍यापर लाहुरे पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, १५ पुष

काठमाडौं । र्‍यापर लाउरे(आशिष राना मगर) पोखराबाट पक्राउ परेका छन् ।
लागूऔषध सेवन गर्दै गरेको अवस्थामा उनलाई बुधबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले बुधबार राती कास्कीको न्युरोडस्थित एक घरबाट ¥यापर रानासँगै उनीसँगै रहेकी एक युवतीलाई पनि पक्राउ गरिएको थियो । उनीहरूसहित लागू औषधको कारोबार र प्रयोगमा संलग्न अन्य केहीलाई पनि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । र्‍यापर लाउरे संलग्न रहेको उक्त लागू औषध प्रकरणमा करिब १५ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको बताइएको छ ।
यस विषयमा थप अनुसन्धानका लागि अनुमति लिएर प्रक्रिया अघि बढाइने जनाइएको छ ।

यदि, लागू औषध कारोबार र प्रयोगमा आरोप पुष्टि भएको अवस्थामा प्रचलित कानुन अनुसार र्‍यापर लाउरे ‘आशिष राना मगर’ ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको छ ।

लागू औषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ । उक्त ऐनको दफा १४ को उपदफा १ (छ) मा अफिम, कोका वा सोबाट बनेको लागू औषधको कारोबार गर्नेलाई मात्रा हेरी सजाय गर्ने व्यवस्था छ । दफा १४ को उपदफा १(छ) को बुँदा १ मा २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

तर यदि कारोबार गरेको पुष्टि नभएको तर सेवन गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ । एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ ।

प्रतिक्रिया