
काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा समूहगत छलफल सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गरिएको थियो । प्रत्येक समूहबाट प्रचण्डको प्रतिवेदनमाथि प्रश्न तेर्साएइएको छ । अध्यक्ष प्रचण्डले त्यसको जवाफ शुक्रबार दिनेछन् ।
जारी आठौं महाधिवेशनमा अध्यक्ष ‘प्रचण्ड’ले ‘२१औं शताब्दीमा नेपाली समाजवादको बाटो’, नामक ४८ पेज लामो दस्तावेज प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्ड र नेता देव गुरुङले जारी महाधिवेशनमा प्रतिवेदन पेस गरेका थिए । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ ।
बिहीबार बन्दसत्रका क्रममा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव पेस गर्नेक्रममा महाधिवेशनबाटै पार्टी नेतृत्वसहितको केन्द्रीय कमिटी र पदाधिकारी चयन गरिनुपर्ने माग उठेको छ ।
समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले प्रतिनिधिबीच छलफलबाट यस्तो निष्कर्ष आएको बताए । उनले भने, ‘हालै सम्पन्न जबस संगठनहरुमा नेतृत्व र पदाधिकारीबिहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन । महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’
उनले युवा नेतृत्वलाई अवसर सिर्जना पार्टीमा हुनुपर्ने, शीर्ष नेताले निश्चित समयमा जिम्मेवारीबाट बिदा प्रणालीको विकास हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि पार्टीबाट पहल हुनुपर्ने जस्ता सुझाव बन्दसत्रमा राखेका छन् ।
प्रचण्ड पथलाई विचारधाराको रुपमा अघि बढाइनुपर्ने भन्दै प्रचण्डपथलाई ब्युँताइए पश्चगमन हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिनु आफैंमा विरोधाभाष हुने उनको धारणा थियो ।
यस्तै, माओवादी महाधिवेशनमा प्रदेश २ को समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेता सत्यनारायण भगतले महोत्तरीको खयरमारामा रहेको शहीद रामवृक्ष यादवको शालिक स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले भत्काउन लगाएको आरोप लगाए । पोखरेललाई कारबाही गर्नुपर्ने उनको माग थियो ।
आफूमाथि गम्भीर आरोप लागेपछि अध्यक्ष मण्डलमा रहेका पोखरेल बन्दसत्रमा जान मानेनन् । यो विषयको निक्यौल नगरेसम्म बन्द सत्रमा नजाने उनको अडान थियो । तर भगतले पोखरेललाई आरोपित गरेकोमा आत्मालोचना गर्दै पत्र लेखेपछि नेतृत्वले पनि आरोप गलत भएको बताएपछि विवाद सुल्झिएको बताइएको छ ।
नेता न्यौपाने फरकमत
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेता लेखनाथ न्यौपानेले १० बुँदे फरकमत राखेका छन् । उनले आफ्नो फरक मतमा भनेका छन्, ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिंदैन । सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र ।’
नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको, तर हामी भन्ने एक ठाउँमा मात्र उल्लेख भएको स्मरण गराउँदै उनले भनेका छन्, ‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ ।’
प्रचण्ड आफैं उपस्थित भएको ठाउँमा लस्करै तस्वीर राख्न कसले निर्देशन दियो भनेर प्रश्न उठाएका छन् । नेता न्यौपानेले फरकमतमा लेखेका छन्, ‘कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा शहीदहरुको तस्वीर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’