डेल्टा र ओमिक्रोनको मिश्रणले डरलाग्दो सुनामी ल्याउन सक्ने डब्लूएचओको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, १५ पुष

काठमाडौं, १५ पुस । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले चेतावनी दिएका छन् ।

युरोप र अमेरिकामा कीर्तिमानी संख्यामा कोभिडका नयाँ संक्रमितहरू देखा परिरहँदा डा. टेड्रोस एड्हानोम गेहब्रेयससको यस्तो चेतावनी दिएको हो । पछिल्लो अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको सुझाएका छन् ।

फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहरमात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन् ।

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन् । डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ । र, स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन् ।’

रोयटर्स समाचार संस्थाका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख संक्रमित थप भइरहेका छन् । अमेरिकाका शीर्ष संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग संक्रमणले जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन् ।
यसैबीच कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन् । जसमा यूके समेत छ, जहाँ १२ वर्ष माथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका छन् ।

तर, डब्ल्यूएचओ प्रमुखले भने ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले ‘महामारी लम्ब्याउने देखिएको’ बताएका छन् । गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ सङ्क्रमण फैलने र भाइरस उत्परिवर्तन हुने थप अवसरहरू सिर्जना हुने डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।

फ्रान्समा पछिल्लो चौबीस घण्टामा दुई लाख आठ हजार संक्रमित पुष्टि भएका छन् । आफ्ना यसअघिका दैनिक संक्रमणका कीर्तिमान तोड्ने देशहरूमा यूके, इटली र स्पेन समेत छन् ।

अमेरिकामा महामारी सुरु भएयताकै उच्च दैनिक संक्रमण देखापरेको छ, जहाँ गत साता औसत दैनिक दुई लाख ६५ हजार संक्रमित पुष्टि भएका थिए ।

प्रतिक्रिया