काठमाडौं, १३ पुष । सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति मंगलबार गठन गरेको हो ।
समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । सरकारले निधन भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
साहस ऊर्जाले प्रवद्र्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको थियो । दुर्घटनामा एक कर्मचारी घाइते भएको छ ।