अफगानिस्तानमा महिलाले एक्लै लामो दुरीको यात्रा गर्दा पुरुषको साथ अनिवार्य
अखबार टुडे
प्रकाशित:
२०७८, १३ पुष

काबुल, १३ पुष । अफगानिस्तानमा तालिबानले मध्यम र लामो दूरीको यात्रा गर्ने महिलाहरूलाई एक्लै यात्रा गर्न नदिने भएको छ ।
छोटो दुरीको यात्रा बाहेक यात्रामा नजिकका पुरुष आफन्तलाई अनिवार्य साथमा राख्नु पर्ने सदाचार र दुष्टता रोकथाम मन्त्रालयले जनाएको हो ।

यदि, आफ्ना नजिकका पुरुष आफन्तहरू बिना लामो यात्रा गर्न चाहने महिलाहरूले यात्राको लागि यातायात सुविधा नपाउने तालिबान अधिकारीहरूले आइतवार बताएका छन् । मन्त्रालयका प्रवक्ता सादिक अकिफ मुहाजिरले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार ७२ किलोमिटरभन्दा बढीको दुरी पार गर्ने महिलाले आफ्ना पुरुष आफन्तबिना यात्रा गर्न पाउने छैनन् ।

यसबाहेक, तालिबानले बुर्का नलगाई कुनै पनि महिलालाई सवारी साधनमा बस्न नदिन पनि सवारी धनीलाई भनिएको छ । तर, मानवअधिकारकर्मीहरूले तालिवानको यो निर्णयको विरोध गरिरहेका छन् ।

यस्तै, तालिबानले संगीत र टेलिभिजन सिरियलका बारेमा पनि महत्वपूर्ण निर्णय लिएको छ । निर्णयअनुसार अबदेखि सवारी साधनमा गीत बजाउन नपाइने भएको छ । सअघि तालिबानले टिभी च्यानलहरूलाई आफ्ना च्यानलहरूमा महिलाले अभिनय गर्ने सिरियल र नाटकहरू देखाउन बन्द गर्न निर्देशन दिएको थियो । यसबाहेक समाचारसँग सम्बद्ध महिला टिभी पत्रकारहरूले बुर्का नलगाइ टिभीमा कार्यक्रम प्रस्तुत गर्न नसक्ने बताएको छ ।

तालिबानले गत अगस्ट १५ मा अफगानिस्तानलाई पुनः कब्जा गरेको थियो । तर, कब्जामा लिएपछि उनले आफ्नो अघिल्लो शासनकालमा जस्तै महिलाका सम्बन्धमा कडा नीति अवलम्बन नगर्ने वाचा गरेका थिए । –बीबीसीबाट

प्रतिक्रिया