काठमाडौं, १२ पुष । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट भएर दुई जना इन्जिनियरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अपराह्न भएको घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनका अनुसार रेग्मी अछाम र थापा काभ्रेका हुन् । दुबैको शव पोस्टमार्टमका लागि सोमबार बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल पठाइएको ढकालले बताए ।
सो घटनामा अर्का एक घाइते भएका छन् । घाइते हुनेमा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन रहेका छन् । उनलाई आइतबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।