
काठमाडौं, ११ पुष । मुलुकका साना राजनीतिक दलका नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनले लिने नीति राष्ट्रियताको रक्षार्थ कोसेढुङ्गा सावित हुनुपर्नेमा जोड दिएको छ ।
काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको आजको महाधिवेशन उद्घाटन समारोहमा उहाँहरूले पार्टीका विचार र सिद्धान्तमा भिन्नता भए पनि राष्ट्रियताको मुद्दामा एकजुट हुनु जरुरी रहेको औँल्याए । महाधिवेशनले लिने सही निर्णयले भोलि राष्ट्रियता जोगाउन महत्वपूर्ण हुने पनि उहाँहरूको धारणा थियो ।
माओवादी केन्द्र सामु तमाम प्रश्न रहेको उल्लेख गर्दै नकपा (माले) का महासचिव सिपी मैनालीले महाधिवेशनबाट यस पार्टीले नवजीवन लिने आशा व्यक्त गरे । पटकपटक व्यवस्था बदले पनि अवस्थामा कुनै भिन्नता नआएको उल्लेख गर्दै महासचिव मैनालीले जनताबाट राजनीतिक दलप्रति असन्तुष्टि किन आइरहेको छ भनी प्रश्न गरे ।
महासचिव मैनालीले दशवर्षे सशस्त्र युद्धको स्मरण गराउँदै त्यो बेलाको उद्देश्यको अपहरण कसले गरेको हो माओवादी केन्द्रले जवाफ दिनुपर्ने बताए । उनले माओवादीसामु ठूलाठूला प्रश्न खडा भएको र त्यसको निकास निकाल्न नसके अन्योलता कायम रहने बताए । ‘एउटा लक्ष्य प्राप्त गर्न सुरु भएको आन्दोलन अर्काे बाटो लिएर अघि बढेको छ’, नेता मैनालीले भने, ‘त्यसमा नमेटिने गरी जिज्ञासा उठिरहेका छन्, तत्कालीन घोषित लक्ष्यलाई कसले अपहरण ग¥यो, अथवा के कारणले समय सापेक्ष भएन, जवाफ दिनुपर्छ ?’
सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले माओवादी एक हुनुपर्छ भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले दिने गरेको अभिव्यक्ति सकारात्मक भए पनि त्यसका लागि ठोस आधार तयार हुनुपर्ने बताए ।
उनले पूर्वमाओवादीबीच एकता जरुरी रहेको र एकता नै गर्ने हो भने साँच्चै केही महत्वपूर्ण आधार तयार गर्नुपर्नै आवश्यकता औँलयाए । उनले महाधिवेशनले त्यो आधार तयार पार्ने आशा व्यक्त गरे । जनयुद्धको लक्ष्य अधुरो र अपूरो रहेको स्मरण गराउँदै नेता गजुरेलले पूर्वमाओवादी एकताका लागि केही सर्त प्रस्तुत गरे ।
नेता गजुरेलले जनयुद्ध अघिका बैठकको निर्णय कार्यान्वयन गर्दै मुलुकलाई जनगणतन्त्र बनाउने, स्वाधिनताका विषयमा र गुमाएको भूमि फिर्ता गर्नेजस्ता विषमया ठोस निर्णय गरे मात्रै पार्टी एकतामा बहस गर्न सकिने बताए ।
समारोहमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले महाधिवेशनले तय गर्ने नीति माओवादी केन्द्रको मात्रै नभई समग्र राष्ट्रिय महत्वको हुने बताए । गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षतालगायत राष्ट्रियताको सवालमा चौतर्फी आक्रमण भइरहेको सन्दर्भ जोड्दै पौडेलले पार्टी बीचमा मतभेदका भए पनि राष्ट्रियताको सवालमा एक हुनुपर्ने बेला आएको बताए । दलबीचमा विभिन्न मतभेद रहे पनि राष्ट्रियताको सवालमा कुनै मतभेद गर्न नहुनेमा जोड दिए ।