एसियन सेन्ट्रल जोन भलिबल: नेपाली महिला टोली फाइनलमा, पुरुषको दोस्रो जित
अखबार टुडे
प्रकाशित:
२०७८, ११ पुष

काठमाडौं, ११ पुष । बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन प्रतियोगितामा नोपली महिला भलिबल टोली एक खेल खेल्नु अगावै फाइनलमा प्रवेश गरेको छ ।

ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २५–२० अङ्क, दोस्रो सेटमा २५–२३ अङ्कले तथा तेस्रो सेटमा २५–१४ अङ्कले हराएको हो ।

नेपालले लिगको अन्तिम खेल किर्गिस्तानसँग खेल्नेछ । पहिलो खेलमा पराजित भएको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना कायमै छ । उज्वेकिस्तानले सोमबार श्रीलङ्कासँग खेल्नेछ । उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

जारी प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले चार खेलबाट ११ अङ्क जोडेको छ । श्रीलङ्का १० अङ्कसहित दोस्रो तथा उज्वेकिस्तान नौ अङ्कका साथ तेस्रो स्थानमा छ । यस्तै किर्गिस्तानको ६ अङ्क छ । बङ्गलादेश र माल्दिभ्स अङ्कबिहीन अवस्थामा छन् ।

यस्तै, नेपाली पुरुष टोलीले पनि माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा हराउँदै नेपालले अघिल्लो चरणमा पुग्ने आशा जीवितै राखेको छ । नेपालले बङ्गलादेशलाई २७–२५, २५–१९ र २५–२३ को सोझो सेटमा हराएको हो । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष ४ मा रहँदै फाइनल खेल्ने सम्भावना कायमै रहेको छ ।

प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले उज्वेकिस्तानलाई तीन–एकको सेटमा हराएको थियो । यस्तै नेपाल बङ्गलादेशसँग तीन–शून्यको सोझो सेटमा र श्रीलङ्कासँग तीन–एकको सेटमा पराजित भएको थियो ।

प्रतिक्रिया