माओवादीको राष्ट्रिय सम्मेलन यस कारण महाधिवेशनमा रुपान्तरण
अखबार टुडे
प्रकाशित:
२०७८, ११ पुष

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका नेता कार्यकर्ता काठमाडौं आइसकेका थिए । प्रचार प्रसारसमेत राष्ट्रिय सम्मेलनका रुपमा भइरहेको थियो । तर, प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन रातारात महाधिवेशनमा रुपान्तरण भयो । त्यसपछि बनाइयो, आठौँ राष्ट्रिय महाधिवेशन ।

आइतबार नेकपा माओवादीको आठौँ महाधिवेशन काठमाडौंमा सुरु भइसकेको छ । तर, कतिपय कार्यकर्तालाई नै थाहा छैन कि किन रातारात राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण गरियो ?

राष्ट्रिय सम्मेलन उद्घाटनको पुर्वसन्ध्या (शनिबार साँझ) बसेको स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । जसलाई आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनमा रूपान्तरण गर्ने स्थायी समितिको प्रस्ताव अनुमोदन गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार ‘महाधिवेशन नै भन्नुपर्ने थियो । तर, यसअघि राष्ट्रिय सम्मेलन भनियो ।’ आइतबार स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले स्पष्ट पार्दै भने, ‘हामी नयाँ केन्द्रीय समितिको निर्वाचन गर्ने भएपछि प्रक्रिया हेर्दा नाम राष्ट्रिय सम्मेलन दिएपनि महाधिवेशनकै निम्ति ग¥यौ र गर्दैछौँ भन्ने लागेर महाधिवेशनमा परिणत गरेका हौँ ।’

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने प्रतिवेदन र विधान तथा नेतृत्वको निर्वाचन तलदेखि माथिसम्मको समग्र प्रक्रियाले सम्मेलन भनिराख्नुपर्ने नदेखिएको बताउँदै भने, ‘त्यसैले हामीलाई लाग्यो, यो त महाधिवेशन नै हो ।’ अध्यक्ष प्रचण्डले अरू प्रमुख पार्टीले महाधिवेशन गर्दा विधिपूर्वक नदेखिएको बताउँदै भने, ‘राष्ट्रिय सम्मेलन भने पनि हामी यहाँ व्यवस्थित रूपमा नयाँ विचारको विकास गर्ने गरी महाधिवेशनमा गर्नुपर्ने कामै गर्दैछौँ ।’

उनले थपे, ‘हामी सम्मेलनमा विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा र हामी जाने समाजवादको बाटो कस्तो हो भन्नेमा विस्तारपूर्वक छलफल गर्दैछौँ । जुन अरू पार्टीले गरेनन् । त्यसकारण यो सबै प्रक्रिया पु¥याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने देखियो । तर, हामीले देशभरि तयारी राष्ट्रिय सम्मेलन भनेर तयारी गर्योँ, तर यो महाधिवेशन नै थियो ।’

प्रचण्डले भेला, सम्मेलन वा महाधिवेशन जे भनिएपनि केन्द्रीय समितिले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिएपछि महाधिवेशन भन्दा केही आपत्ति हुँदैन भन्ने निर्वाचन आयोगका जवाफ आएको बताए । उनले भने, ‘५ वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्नेछ भन्ने छ । त्यसो भएर हामीले गरेका सबै काम महाधिवेशनका गर्ने तर नामचाहीँ सम्मेलन राख्नुभन्दा महाधिवेशन नै भन्नु उचित हुन्छ भन्ने लाग्यो ।’

अध्यक्ष प्रचण्डले पार्टीले पारित गर्ने दस्ताबेज र विधानको महत्वका साथै समावेशी, समानुपातिक सम्बोधन गर्ने भनेर राष्ट्रिय सम्मेलन नै भन्न आवश्यक नरहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया