काठमाडौं, ११ पुस । नेकपा एमालेकै जस्तनो नेकपा माओवादी केन्द्रले पनि बहुपदीय संरचनाको अभ्यास गर्ने भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै दिन बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको हो ।
यससँगै अब माओवादी केन्द्र पनि एमाले मोडलमा गएको छ । अब माओवादीमा एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने व्यवस्था विधानमा गरिएको छ ।
महाधिवेशन उद्धघाटनअघि आज बिहान काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले अन्तरिम विधानमा संशोधन गर्दै केन्द्रीय समितिमा पदाधिकारी संख्या १५ जना हुने टुंगो लगाएको छ । केन्द्रीय समितिबाट पारित विधान अनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।
१५ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट निर्वाचित हुनेभएका छन् । यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पनि महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी समितिको निर्णय अनुमोदन गर्दै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय बैठकले अनुमोदन गरेको स्थायी समितिका सदस्य गणेश साहले बताए ।
माओवादी केन्द्रको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट गठन हुने उल्लेख गरिएको थियो । महाधिवेशनको आज काठमाडौं कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।
महाधिवेशनका लागि सम्पुर्ण तयारी पुरा भएको माओवादी केन्द्रले जनाएको छ । महाधिवेशनमा देशैभरीका १६ सय ८ जना प्रतिनिधि सहभागि हुदैछन् ।