आउँदो चुनावसम्म नै संसद अवरोध गरिरहन्छौँ: ओली
अखबार टुडे
प्रकाशित:
२०७८, १० पुष

काठमाडौं, १० पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव भएर नयाँ प्रतिनिधि नआउञ्जेल संसदमा अवरोध भैरहने बताएका छन् ।
शनिबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आउँदो चुनावसम्मनै संसद अवरोध गर्ने बताएका हुन् । अहिले पनि बलपूर्वक संसद चलिरहेको भन्दै ओलीले संसद ठप्प नभएको तर अवरोध रहिरहने बताए ।

आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । कारबाहीलाई सभामुखले मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको एमालेको आरोप छ ।

अध्यक्ष ओलीले चुनावमा एमालेले बहुमत ल्याउने पनि दावी गरे । सरकारले एमसीसीको बारेमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेपछि मात्रै आफूहरुले पनि एमसीसीको बारेमा धारणा बनाउने उनले बताए ।

यस्तै, अध्यक्ष ओलीले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताए । उनले अनेकौँ समस्याको सामना गरेर नेकपा एमालेले देश विकासको अभियानलाई उचाइमा पु¥याएको दाबी पनि गरे ।

प्रतिक्रिया