ओलीले तेस्रो पटक संसद् विघटन गर्न खोज्दैछन्, बालकोट नै गएर संवाद गरौँ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, १० पुष

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले छलफलबाट भाग्न खोजिरहेको बताएका छन् ।
शनिबार प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सम्पादकसँग गरिएको अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले एमाले छलफलबाट भाग्न खोजिरहेकाले आफूहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटनै गएर संवाद गर्न चाहेको बताए ।

महत्वपूर्ण विषयमा छलफल गर्न सरकारले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नभएको उल्लेख गर्दै उनले आफूले प्रधानमन्त्रीलाई ओलीसँग छलफल गरौँ भनेको बताए ।

‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभयो, तर प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुहुन्न, पटक–पटक प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने र प्रमुख प्रतिपक्षी नआउने’, अध्यक्ष दाहालले भने, ‘मैले त एकपटक प्रधानमन्त्रीलाई भनेँ, प्रधानमन्त्रीजी अब उहाँ आउनुहुन्न, त्यस्तै हुनुहुन्छ । हाम्रो के लाग्यो ? तपाईं र म नै बालकोट जाऔँ । यो सदन पनि यसरी रोकिदिनुभएन भनौँ । देशका अरु विषय पनि हल गरौँ भनेको छु ।’

लगातार संसद् अवरुद्ध गरेर एमालेले फेरि पनि संसद् विघटन होस् भन्ने चाहेको उनको भनाइ थियो । ‘एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद् विघटन गर्न खोजिरहेका छन् । पहिलोपटकको विघटन सडकबाट बदर ग¥यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर ग¥यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ’, उनले भने ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को निरन्तरको अवरोधका कारण पुनःस्थापित प्रतिनिधिसभाले गति लिन सकेको छैन । पुनःस्थापित प्रतिनिधिसभाको नवौँ र दसौँ अधिवेशनमा एमालेको अवरोध कायमै छ ।

एमाललेले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म संसद् अवरोधलाई निरन्तरता दिने सङ्केत गरिरहेको छ । प्रतिनिधिसभामा अवरोध जारी रहँदा जनजीविकाका सवाल ओझेलमा परेका छन् । नागरिकता विधेयक, निजामती विधेयकलगायत जनतासँग प्रत्यक्ष जोडिएका विषय निष्कर्षमा नपुग्दा जनतामा नैराश्यता बढेको छ ।

प्रतिनिधिसभाको कामकारबाहीलाई व्यवस्थित बनाउन, संसद्मा देखिएको गत्यारोध अन्त्यका लागि सभामुख तथा सरकारले गरेको प्रयत्नलाई एमालेले असहयोग गर्दै आएको छ । सदनमा हुँदै आएको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेर एमालेले आफूले गरेको संसद् विघटनलाई ‘जायज’ पुष्टि गर्न खोजिरहेको छ ।

मुलुकका जल्दाबल्दा समस्यालाई समाधान गर्न प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरिरहेको छ । प्रतिपक्ष सरकारसँग संवादमा आउन नचाहिरहेको चर्चा सार्वजनिक हुन थालेको छ । वर्तमान राजनीतिक परिस्थितबाट मुलुकलाई निकास दिन संसद्को सबैभन्दा ठूलो दल एमालेसँग निर्णायक छलफल गर्ने सत्ता गठबन्धनको तयारी छ ।

परिवर्तनकारी शक्ति एक हुनुपर्छ

अन्तक्र्रियामा माओवादी अध्यक्ष दाहालले सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक हुनुपर्ने बताए । माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी गठबन्धनमा रहेको उल्लेख गर्दै उनले गठबन्धनभन्दा बाहिर रहेका पार्टीसँग पनि आगामी निर्वाचनमा मोर्चा बनाउने र एकता गर्ने विषयमा कुराकानी भइहरहेको बताए ।

ढिलोचाँडो माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एक हुनसक्ने उनको भनाइ थियो । ‘माधव नेपाल र हामी ढिलोचाँडो एक ठाउँमा हुन्छौँ, हामी यसअघि पनि आफैँ छुट्टिएका हैनौँ’, उनले भने ।

माओवादी एमसिसीको विरोधी होइन

अध्यक्ष दाहालले दातृ राष्ट्रको सहयोग लिने विषयमा माओवादीको कुनै असहमति नरहेको बताए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताभित्र रहेका विषयमा जनताले उठाएका चासोलाई निरुपण गर्नुपर्ने भन्दै उनले एमसीसीका विविध पक्ष केलाउन गठबन्धनले कार्यदल बनाएर अध्ययन थालेको बताए ।

‘माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडि बढ्नुपर्छ भनिएको हो’, उनले भने, ‘तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ । आएको सुझावअनुसार नै अगाडि बढ्छ ।’

यसअघि पनि विभिन्न दातृ राष्ट्र तथा निकायले दिएको सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै अध्यक्ष दाहालले एमसीसी सम्झौतामा उठेका प्रश्नको भने निरुपण हुनुपर्ने बताए ।

सत्ता गठबन्धनले एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेको कार्यदल गठन गरेका छन् । कार्यदलले प्रारम्भिक छलफल थालेको छ ।

प्रतिक्रिया