सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित
अखबार टुडे
प्रकाशित:
२०७८, १० पुष

काठमाडौं, १० पुष । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले लगतार तेस्रो जित निकालेको छ ।

बङ्गलादेशको ढाकामा शुक्रबार भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको हो । एकपक्षीय बनेको खेलमा नेपालले बङ्गलादेशलाई २५–५, २५–१५, २५–१७ ले हराउँदै खेल सहजै जित निकालेको हो । जितपछि नेपाल अंकतालिकामा शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो । तीन जितपछि नेपालले फाइनल पुग्ने सम्भावना बलियोसमेत बनाएको छ । नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ । ६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

यसैबीच नेपालको पुरुष टोलीले आज श्रीलङ्कासँग खेल्दैछ । नेपाल र श्रीलङ्काबीचको खेल बेलुका पौने ६ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–० को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा उज्बेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।

प्रतिक्रिया