अपेक्षाकृत काम हुन नसक्दा आफूहरु मारमा परेको हस्तकला व्यवसायको गुनासो
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष

काठमाडौं, ९ पुस । ललितपुरलाई विश्वको ३५औँ कला नगरी घोषणा गरिएपनि सोअनुरुप ठोस काम हुन नसक्दा हस्तकला व्यवसाय मारमा परेको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न ४२औँ साधारणसभाका वक्ताहरुले सो कुरा बताएका हुन् ।

हस्तकला घोषणा गरिएपनि सोहीअनुरुप काम हुन नसक्दा पुस्तौंदेखि हस्तकला, काष्ठकला, प्रस्तरकला, सुनचाँदी व्यवसायमा विस्तारै संकटमा पर्न थालेको उनीहरुको भनाइ छ ।

मल्लकालीन समयदेखि नै समृद्ध अर्थतन्त्रको आधारका रुपमा हस्तकलाजन्य उत्पादनलाई लिइन्छ । अहिले आएर ती उत्पादनहरुको स्वरुप कुनै बृहतस्तरमा छन् भने कु्नै सानास्तरमा विस्थापित हुने अवस्थामा पुगेको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले बताए ।

वल्र्ड क्राफ्ट काउन्सिलले तीन वर्षअघि ललितपुर नगरलाई हस्तकला नगरीको रुपमा घोषणा गरिएके उल्लेख गर्दै उनले भने, ‘यस क्षेत्रमा अपेक्षाकृत काम हुन सकेन । यस विषयमा सबैको ध्यानाकृष्ट गराउन चाहन्छौँ ।’ हस्त कलाजन्य सामग्रीको प्रयोगमा बढावा दिन पनि अध्यक्ष न्याछ्योंले ललितपुरका स्थानीय तहसमक्ष माग गरे ।

हस्त कलासँगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री, खाद्य एवं पेय पदार्थलाई ब्राण्डिङ गरी बिक्री गर्न सकिने अवस्था रहेको हुँदा त्यसको व्यवस्था मिलाउन संघ, प्रदेशसँगै स्थानीय तहले दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रमको प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ललितपुरको लुभुमा कपडा उद्योगको विशेष क्षेत्र र हस्तकला ग्राम बनाउनुपर्ने खाँचोे आँैल्याइन् । उनले ललितपुरलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्नुपर्ने बताउँदै पर्यटन र हस्तकला नै अर्थतन्त्रको मुख्य आधार भएको विचार व्यक्त गरिन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २४ घण्टा उज्यालो हुनेगरी स्मार्ट बत्ती जडान गरिएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नेगरी रात्रीकालीन व्यवसाय गर्न पनि उद्यमी व्यवसायीहरुलाई आग्रह गरे । जिल्ला नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठले ललितपुर जिल्लालाई हस्त कलाको जिल्लाको रुपमा विकास गर्न निजी क्षेत्र, हस्त कला व्यवसायी सबै मिलेर कार्ययोजना बनाउनुपर्नेमा हालसम्म सो काम हुन नसकेको बताए ।

यस्तै, संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, महासचिव रुपकमान महर्जनले जिम्मेवार पक्षले समय समयमा व्यक्त प्रतिबद्धताअनुरुप काम हुन नसकेकाले बताए ।

प्रतिक्रिया