माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष

काठमाडौं, ९ पुष । नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको छ ।

शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेका छन् ।

जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच वार्ता र संवादका दौरानमा नेकपा मसाल सम्पर्क केन्द्रले नेपालको राजनीतिक परिवर्तनमा मुख्य भूमिका अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन कै रहेको तथ्यलाई स्वीकार गर्दै वर्तमान राजनीतिक सैद्धन्तिक प्रश्नहरुको साथै संगठनात्मक प्रश्नमा पनि मुलत समान दृष्टिकोण निर्माण भएको छ’,।

साथै समझदारी बन्न बाँकी स्थानीय तहहरुका पार्टी सेलसम्मकै पार्टी संगठनको काम र जनवर्गीय मोर्चाहरुको एकीकरणको काम छिटै गरिने विज्ञप्तिमा उल्लेख छ ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रसँग एकता भएको हो । विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ ।

माओवादी शान्त्रि प्रक्रियामा आएपछि मोहनविक्रम सिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदी लगायत माओवादीसँग एकतामा आएका थिए । लम्साल त्यो एकतामा सहभागी नभइ मसालभित्रै अन्तरसंघर्षमा रहेका थिए ।

प्रतिक्रिया