न्यायाधीश खड्काको स्पष्टिकरण, ‘मैले जन्ममिति सच्याएको छैन’
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष

काठमाडौं, ९ पुस । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिएकी छन् । न्यायाधीश खड्काले विज्ञप्ति जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४/२/२ नै भएको बताएकी छन् ।

खड्काद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा आफूले २८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भएपनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरु कागजातमा जम्ममिति २०१४/२/२ नै कायम रहेको समेत बताएकी छन् ।

तर उनले न्याय परिषद् बुलेटिन प्रकाशित गर्ने क्रममा केही वर्ष त्रुटिबस आफ्नो जन्ममिति २०१३/१०/२८ उल्लेख भएको र परिषद्ले नै त्यो त्रुटि सच्याएको उनको भनाइ छ । न्यायाधीश खड्काले विज्ञप्तिमा भनेकी छन्, ‘परिषद् आफैंले त्रुटि सच्याई २०७१ देखि २०७८ साल पौष ३ गतेसम्म प्रकाशित न्याय परिषद् बुलेटिनहरुमा मेरो वास्तविक जन्ममिति २०१४/२/२ भनी उल्लेख गरिएकाले मेरो जन्ममिति सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनु पर्ने कारण छैन ।’

न्याय परिषदमा राखिएको आफ्नो शैक्षिक प्रमाणपत्रहरुमा आफ्नो जन्ममितिको पूर्ण र यथार्थ विवरण रहेको भन्दै उनले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन ।’

प्रतिक्रिया