बंगलादेशको एउटा फेरीमा आगो लाग्दा कम्तिमा ३६ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष

काठमाडौं, ९ पुस (एजेन्सी)। बंगलादेशमा शुक्रबार बिहान एउटा फेरीमा आगलागी हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहरनजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो ।

तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए । तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए । फेरीको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए ।

बंगलादेशको प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । आगोले जलेका झन्डै १०० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। केही मानिसहरू अझै हराइरहेका छन् ।

बंगालको खाडीमा मिसिने धेरै नदीहरू बंगलादेश भएर जान्छन् । धेरै नदीहरू भएकाले बंगलादेशमा फेरी यातायातको प्रमुख माध्यम हो ।

प्रतिक्रिया