सेन्ट्रल जोन महिला भलिबलमा नेपालीको विजयी सुरुवात
अखबार टुडे
प्रकाशित:
२०७८, ८ पुष

काठमाडौं, ८ पुष । एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ ।

बङ्गलादेशमा बिहीवारदेखि सुरु भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा हराएको हो ।

पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तर तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा फर्कने सङ्केत गरेको थियो । चौथो सेट पनि २५–१९ ले नेपालले जितेपछि खेलको नतिजा अन्तिम पाँचौँ सेटबाट निकाल्न परेको थियो । पाँचौँ सेट नेपालले १५–१३ ले जित्यो ।

नेपालले दोस्रो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ । यस्तै, आजै नेपालको पुरुष टोलीले घरेलु टोली बंगलादेशसँग खेल्दै यात्रा थाल्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउसो ४ः४५ बजे शुरू हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्र सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया