ग्रिस प्रवेश गर्न खोज्दा दुर्घटनामा परी मृत्यु भएका चार नेपालीको पहिचान खुल्यो
अखबार टुडे
प्रकाशित:
२०७८, ८ पुष

काठमाडौं, ८ पुस । मंसिर पहिलो साता अवैध रूपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको सवारी दुर्घटनामा परी र्मत्यु भएका चार नेपालीको पहिचान खुलेको छ ।

ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वमा भएको दुर्घटनामा ७ जनाको ज्यान गएकामा चार जना नेपाली परेको सोमबार पुष्टि भएको हो । मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापा रहेका छन् ।

प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)ले पहिचानका लागि दुर्घटनामा मृत्यु भएकाहरूको तस्बिर नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो । इन्टरपोल नेपालमार्फत प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका तस्बिर परिवारजनले सोमबार सनाखत गरेका थिए ।

ग्रिस इन्टरपोलले पठाएको पत्रअनुसार सवारी लाइसेन्स नभएका मोल्दोभाली चालकले चलाएको कालो कारमा १५ जना सवार थिए । ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिएको कार पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर बाँच्न सफल भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । दुर्घटनामा घाइते भएका दोलखा, भीमेश्वर नगरपालिका–९ का मनु लामा र कैलालीको गौरीशंकर नगरपालिका–४ का लोकराज आचार्य केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

लोकराज र लक्ष्मण असोज २ मा नेपालबाट सँगै टर्की उडेका थिए । मनु र राजु भने असोज ९ मा उडेका थिए । हाल ग्रिसको एथेन्स सहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य ४ जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो ।

ग्रीस एसिया, मध्य पूर्व र अफ्रिकामा गरिबी र द्वन्द्वबाट भागेका मानिसहरूका लागि युरोपेली संघमा जाने सबैभन्दा लोकप्रिय मार्गहरू मध्ये एक हो । ग्रीसमा गोप्य प्रविष्टिहरूका लागि प्रायः प्रयोग हुने मार्गहरू टर्कीको तटबाट नजिकैको ग्रीक टापुहरूमा पुग्ने छोटो तर खतरनाक समुद्री पार, वा ग्रीस र टर्की बीचको भारी संरक्षित भूमि सीमा पार गर्ने हो ।

प्रतिक्रिया