काठमाडौं, ७ पुष (एजेन्सी) । दक्षिणी चीनको गान्झाउमा आफ्नो अण्डाबाट बच्चा निस्कने तयारीमा रहेको पूर्ण रूपमा सुरक्षित डायनासोरको भ्रूण फेला परेको वैज्ञानिकहरूले घोषणा गरेका छन् ।
बीबीसीका अनुसार अनुसन्धानकर्ताहरूले यो कम्तिमा ६ करोड ६० लाख वर्ष पुरानो भएको अनुमान गरेका छन् । यो दाँतविहीन थेरोपोड डायनासोर वा ओभिराप्टोरोसौर हुनसक्ने विश्वास गरिएको छ र यसलाई बेबी यिंगलियाङ नाम दिइएको छ ।
अनुसन्धानकर्ता डा फियोन वैसुम माले यो ‘इतिहासमा पाइने सबैभन्दा राम्रो डायनासोर भ्रूण’ भएको बताए । यस खोजले अन्वेषकहरूलाई डायनासोर र आधुनिक चराहरूबीचको सम्बन्धको बारेमा अझ सजिलो हुन बताइएको छ ।
यो जिवाश्म टाउकोदेखि पुच्छरसम्म १०.६ इन्च (२७ सेन्टिमिटर) लामो रहेको छ । अण्डा पहिलो पटक २००० मा पत्ता लगाइएको थियो । तर १० वर्षको लागि भण्डारणमा राखिएको थियो । डायनासोरको शरीरको भाग अझै चट्टानले ढाकिएको छ र अनुसन्धानकर्ताहरूले यसको पूर्ण कंकालको छवि बनाउन उन्नत स्क्यानिङ प्रविधिहरू प्रयोग गर्नेछन् ।