१० उद्योगलाई थप १५० मेगावाट बिजुली, २१० मेगावाटको जिआइएस हुँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ७ पुष

काठमाडौँ, ७ पुस । नेपाल विद्युत् प्राधिकरणले चालू आवको पहिलो चार महिनामा १० उद्योगलाई विद्युत् आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरिएको छ । सात वटा उद्योगलाई करिब १११ मेगावाट क्षमता बराबरको विद्युत् उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन (जीआइएस) गरिएको छ ।

यस्तै पाँच वटा उद्योगले माग गरेको करिब ९८.८ मेगावाटको जिआइएसको प्रक्रियामा रहेको छ । लोड स्वीकृत, जिआइएस सम्पन्न र प्रक्रियामा रहेको मागका आधारमा उद्योगमा थप करिब ३६० मेगावाट विद्युत् खपत हुने देखिएको छ । थप विद्युत्को माग गर्नेमा अधिकांश स्टिल र सिमेन्ट उद्योग छन् ।

जिआइएसमार्फत लोड स्वीकृत गर्नुभन्दा पहिला उद्योग क्षेत्रमा रहेका प्रसारण तथा प्रणाली सञ्जालको क्षमताले मागबमोजिम विद्युत् उपलब्ध गराउन सकिने÷नसकिने अवस्थाको निक्र्यौल गरिन्छ । जिआइएस सकिएपछि लोड दिनसक्ने अवस्था भएमा प्राधिकरण र सम्बन्धित उद्योगबीच ग्रिड कनेक्सन सम्झौता गरी लोड दिइन्छ ।

आन्तरिकरुपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन उद्योगलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीतिअनुसार प्राधिकरणले नयाँ तथा थप लोडका लागि आवेदन माग गरेको छ । लोड माग गर्ने ग्राहकलाई यथाशीघ्र लोड स्वीकृत गरी विद्युत सेवा उपलब्ध गराउन समयसीमा सहितको प्रक्रिया निर्धारण गरिएको छ ।

ठूलो परिमाणमा विद्युत् माग गर्ने ग्राहकलाई ११, ३३, ६६ र १३२ केभी प्रसारण लाइनबाट लोड लिनका लागि नियमअनुसार गर्नुपर्ने जिआइएसलाई व्यवस्थित र शीघ्र गर्न समयसीमा सहितको प्रक्रिया लागू गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोड स्वीकृति भएका उद्योगमध्ये केहीले विद्युत् आपूर्ति लिएको र केही लिने प्रक्रियामा रहेको जानकारी दिए । अहिलेको माग देशमा उत्पादित विद्युत् यहीभित्र खपत गर्न उत्साहजनक रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

घिसिङका अनुसार ‘औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ, लोड स्वीकृति भएका उद्योगलाई प्रसारण तथा वितरण प्रणालीले धानेसम्म तत्कालै विद्युत् उपलब्ध गराएका छौँ । केहीले लोड स्वीकृत गराएर आफ्ना संरचना बनाइरहेका छन्, त्यस्ता उद्योग सञ्चालनमा आउनु पहिले नै विद्युत् दिने गरी लाइन तथा सबस्टेशनको विस्तार र सुदृढीकरण गरिरहेकाछौँ,’ ।

‘आफैँले प्रमुख औद्योगिक करिडोरमा सञ्चालित उद्योगकोे भ्रमण गरी त्यहाँको विद्युत् आपूर्तिको अवस्था र आगामी दिनमा चाहिने लोडको जानकारी लिएको छु । योसँगै उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको छ’, उनले भने ।

प्राधिकरणको विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्नसक्ने सम्भावित ठाउँहरुको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया