फाइभजी प्रविधि तत्काल प्रयोग नगर्न अमेरिका सरकारलाई बोइङ र एअरबसको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ६ पुष

काठमाडौं, ६ पुष (एजेन्सी) । विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता ‘बोइङ र एअरबस’ कम्पनीका प्रमुख अधिकारीहरूले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्न हतार नगर्न आग्रह गरेको बीबीसीले बताएका छन् ।

अधिकारीहरूले सो प्रविधिले ‘नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने’ चेतावनी दिएका छन् । ‘फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ,’ बोइङमा डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा लेखिएको छ ।

सो पत्रमा एअरलाइन्स फर अमेरिकाले गरेको एउटा अध्ययनको तथ्याङ्कलाई संलग्न गरिएको छ । सो अध्ययनले सन् २०१९ देखि अमेरिकामा फाइभजी नियम लागु भएको भए अहिलेसम्म ३४५,००० यात्रुवाहक उडान र ५,४०० मालवाहक उडान ढिलो वा अन्यत्रै अवतरण वा रद्द भएको हुने निष्कर्ष निकालेको छ ।

अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को ज्यानुअरी ५ देखि फाइभजी प्रविधि लागु गर्ने तयारीमा छन् ।

उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभजीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकी मोबाइल सेवा प्रदायकहरूको समूह सीटीआईएले भने फाइभजी सुरक्षित रहेको र उड्डयन उद्योगले तथ्य बङ्ग्याएर त्रास उत्पन्न गर्ने काम भएको बताएको छ ।

प्रतिक्रिया