साफ उपविजेता फुटबल टोलीलाई जनही ५ लाख
अखबार टुडे
प्रकाशित:
२०७८, ६ पुष

काठमाडौं, ६ पुष । सरकारले माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनका नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गरेको छ ।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गरेका हुन् । सरकारले खेलाडीलाई जनही रु पाँच लाख, तीन जना प्रशिक्षकलाई जनही रु तीन लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा छन् ।

त्यसैगरी प्रशिक्षकमा अब्दुल्लाह अलमुताईरी, किरण श्रेष्ठ र विकाश मल्ल छन् । फिजियोमा आविष्कार पुडासैनी तथा टिम व्यवस्थापकमा मधुसुदन उपाध्याय छन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले खेल र खेलाडीको बिकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले खेलाडीहरुको मनोवल उच्च राख्न सरकारले सदैव खेलाडीहरुको हितमा काम गर्ने जनाए ।

यस्तै, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा अन्तराष्ट्रिय खेल खेलाउन सक्ने मैदान आवश्यक रहेकाले आगामी बजेटमा सरकारले ध्यान दिने बताए । खेलाडीहरुलाई पुरस्कार दिने बिषयमा कार्यबिधि तयार गरेर नै अघि बढ्ने तयारीमा मन्त्रालयले अघि बढेको उनको भनाई थियो ।

सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख पुरस्कार प्रदान गर्ने यसअघि नै घोषणा गरेको थियो । पूर्व घोषणाअनुरुप सरकारले आज सम्मान गरेको हो ।

प्रतिक्रिया