
धादिङ, ६ पुष । भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका धादिङका १९ जना अलपत्र परेका छन् । भिसाको म्याद सकिएपछि कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् ।
धादिङको नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक दिनेश दुवाडीका अनुसार नीलकण्ठ नगरपालिका वडा नम्बर–९ का ९ जना र वडा नम्बर–५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अलपत्र परेको र उद्धारको प्रतिक्षामा रहेको छ ।
भिजिट भिसामा गएपछि काम लगाइदिने प्रलोभन पारेर हरेक व्यक्तिसँग २ लाख ५० हजार रुपैयाँ असुलेर दुबई पुगेपछि काम गर्न नपाएको पीडित रमेश परियारले जानकारी दिएका छन् । भिजिट भिसामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नवराज तामाङले दुबई पुगेर पनि एउटा कोठामा लगेर राखेका थिए ।
२५ जनालाई खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्रवासन केन्द्रमा गरिएको उजुरीमा उल्लेख छ । कामका लागि कसैलाई पनि भिजिट भिसामा नजान दुवाडीले आग्रह गरे । अलपत्रलाई नेपाल ल्याउने प्रयास भइरहेको सूचना तथा परामर्श केन्द्रले जनाएको छ । –उज्यालोबाट