काठमाडौं, ५ पुष । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले गठबन्धनको निरन्तरतामा दिनुपर्ने जनाएको छ ।
सोमबार समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका हुन् ।
उनले एमसिसीलगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘सानासाना समस्याका कारणले पनि गठबन्धन भत्काउने खतरा छ ।’ उन्नत समाज निर्माणका लागि सुशासन, लोकतन्त्र, समृद्धि हासिल गर्नुपर्ने उनले बताए । कोही पनि निजी स्वार्थमा लम्पसार भएमा अमेरिकादेखि छिमेकी दक्षिणपन्थी शक्तिसमेत हाबी हुने खतरा रहेको उनले औँल्याए ।
गत वर्ष पुस ५ गते भएको संसद् विघटन प्रतिगामी कद्म भएकाले त्यसको विरोध गरेको र अझै पनि प्रतिगमन पूर्णरुपमा अन्त्य नभएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप थियो । विगतमा पनि पटक–पटक लोकतन्त्रमाथि प्रहार भएको र त्यसविरुद्ध नेपाली जनता लड्दै आएको उनको भनाइ थियो ।