अध्यक्ष नेपालले भने, ‘ओली ज्याद्रो मान्छे’
अखबार टुडे
प्रकाशित:
२०७८, ५ पुष

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपाका अध्यक्ष केपी ओली शर्मालाई ‘ज्याद्रो मान्छे’को संज्ञा दिएका छन् ।

सोमबार नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले आयोजनामा गरेको ‘पुस ५ लाई कालो दिन’ विषयक बहस कार्यक्रममा अध्यक्ष नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोझो भएर ओलीलाई चिन्नै नसकेको बताए ।

अध्यक्ष नेपालले भने, ‘प्रचण्ड सोझो हुन पुग्नुभयो । कहिल्यै कुरा उठाउनुभएन, अव मेरो पालो भन्नुपर्थ्यो नि । उहाँले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन ।’ उनले नेकपाभित्रको विवाद र केपी ओलीको व्यवहारको व्याख्या गर्दै ओलीले पटक पटक संसद विघटन गरेर र नेकपालाई विभाजन गरेको र ओली वामपन्थ नभएको टिप्पणी गरे ।

‘केपी ओलीको वामपन्थ होइनन् रामपन्थ हुन् । अग्रगमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउँदैनन्’ अध्यक्ष नेपालले भने । सत्तारुढ गठबन्धन ५ वटै पार्टी अग्रगमनका पक्षपाती उनको उनको भनाइ छ ।

विदेशीको इशारामा चल्ने एकातिर र अग्रगमनको दिशामा चल्नेहरू अर्कोतिर हिँडिरहेको बताउँदै नेपालले गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा संयुक्त रुपले अघि बढ्ने बताए । उनले भने, ‘सबैको चाहानाअनुसार आम चुनावसम्म मिलेर गठबन्धन अघि बढ्नेबारे छलफल भइरहेको छ ।’

प्रतिक्रिया