सर्वदलीय बैठक : यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान, संसद अवरोध नगर्न एमालेलाई आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ४ पुष

काठमाडौं, ४ पुस । सत्तारुढ गठबन्धनले एमसीसीबारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो ।

तीन सदस्यीय कार्यदल गठनलगत्तै आइतबार बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा कांग्रेसबाहेक सबै दलका नेताले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राखेका थिए ।

सर्वदलीय बैठकमा डाकिएपनि प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित थियो । गठबन्धनको बैठकले एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ ।

यसैबीच सत्तारुढ गठबन्धनले प्रमुख विपक्षी दल एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् । सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो । तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन’ कार्कीले बैठकको निष्कर्ष सुनाउँदै भनेका छन्, ‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’
एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ ।

सर्वदलीय बैठकले संघीय संसद निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया