भारतमा महिला र पुरुष दुबैको न्यूनतम विवाह गर्ने उमेर २१ वर्ष तोकियो
अखबार टुडे
प्रकाशित:
२०७८, ४ पुष

काठमाडौं, ४ पुष । भारत सरकारले महिला र पुरुष दुबैको लागि विवाह गर्ने न्यूनतम उमेर २१ वर्ष तोक्ने निर्णय भएको बीबीसी जनाएको छ ।

तर सरकारको निर्णयको मुस्लिम समुदायले भने विरोध गरेका छन् । इण्डियन युनियन मुस्लिम लिगले सरकारको निर्णयको विरोध गर्दै यो नियम मुस्लिम समुदायमाथिको अतिक्रमण भएको आरोप लगाएको बीबीसी हिन्दीले जनाएको छ । यस अघि विवाहका लागि पुरुषको उमेर २१ वर्ष र महिलाको उमेर १८ वर्ष थियो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार कानुनमा संशोधनपछि नियम लागू हुनेछ । यस अघि सन् १९९५ मा बनाइएको कानुनले विवाहको लागि महिलाको न्यूनतम उमेर १८ वर्ष तोकेको थियो । सरकारले बनाएको एउटा समितिले महिलाको विवाहको उमेर हद पुरुषसरह बनाउन सिफारिस गरेको थियो ।

समितिका अध्यक्ष जया जेटलीले प्रत्येक क्षेत्रमा लैंगिक समानता र सशक्तीकरणको कुरा भइरहेका बेला विवाहको उमेरमा पनि समानता आवश्यक रहेको बताए । विवाहका लागि १८ वर्षमै कानुनी मान्यता दिँदा महिलाले अध्ययन पूरा गर्न नपाउने, छिटै गर्भधारण गर्नुपर्ने लगायतका समस्या देखिएकोले २१ बर्ष उपयुक्त हुने उनले बताए ।

प्रतिक्रिया