आजदेखि ५७ जिल्लाका १२-१७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप
अखबार टुडे
प्रकाशित:
२०७८, ४ पुष

काठमाडौं, ४ पुष । आजदेखि देशका ५७ जिल्लाका १२–१७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ ।

खोप अभियान १४ गतेसम्म चल्ने छ । प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

यस्तै खोप लगाउनेमा बागमती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् । ती जिल्लाका पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य मन्त्रालयले १२ देखि १७ वर्षसम्मका झण्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

यस्तै, कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन आवश्यक नभएको मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगर्न मन्त्रालयको आग्रह छ ।

प्रतिक्रिया