यू-१९ महिला साफ फुटबल: नेपाल फाइनल नजिक, भातरसँग बराबरी पर्याप्त
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष

काठमाडौं, २ पुष । यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ ।

बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।

नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १÷१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समान ७ अंक नै रहेपनि बंगलादेश गोल अन्तरमा शीर्षस्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भारत शुक्रबाको पहिलो खेलमा आयोजक बंगलादेशसँग १–० ले पराजित भएको छ ।

अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ । यो खेलमा जित हात निकाल्न सके नेपाल फाइनलमा प्रवेश गर्नेछ । बराबरीले पनि नेपालले फाइनलमा स्थान बनाउनेछ । नेपाल हारे भारतले फाइनल खेल्नेछ ।

नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया