काठमाडौं, २ पुष । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
प्राप्त मत परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् ।
समितिका अनुसार राठौरले २ हजार ५७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी देवराज चालिसे २ हजार ५९ मत प्राप्त गरे । मधेसीतर्फ यादवले २ हजार ३३० र उनका निकटतम प्रतिस्पर्धी रामकृष्ण यादवले १ हजार ८२० तथा अर्का प्रत्यासी रञ्जित कर्णले ४७२ मत प्राप्त गरे ।
मुस्लिमतर्फ मन्सुरले २ हजार ७७६ मत र गर्दा उनका निकटतम प्रतिस्पर्धी शेख वकिलले १ हजार ८७१ मत प्राप्त गरे । यसैगरी थारुतर्फ चौधरीले २ हजार ७६२ र उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १ हजार ८७७ मत प्राप्त गरे ।
पिछडिएको क्षेत्रतर्फ पाण्डेले २ हजार ४११ र उनका निकटतम प्रतिस्पर्धी जीवनबहादुर शाहीले २ हजार १३३ मत तथा अर्का प्रत्याशी चेतराज बजालले ९९ मत प्राप्त गरे । समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।
कांग्रेसको सहमहामन्त्री पदको मतगणना सकिएसँगै १३ सदस्यीय पदाधिकारी चयन भएको छ । सभापति पदमा दोहोरिएका शेरबहादुर देउवाको पदाधिकारीमा बहुमत भने पुगेको छ । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द यादव देउवा समूहबाट निर्वाचित भएका हुन् ।
यस्तै डा. शेखर कोइराला समूहबाट उपाध्यक्ष धनराज गुरुङ र महामन्त्री गगनकुमार थापासहित सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार निर्वाचित भएका छन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट चुनावी प्रतिस्पर्धामा आएर महामन्त्रीमा विजयी भएको छ । सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरेपछि देउवा समूहले शर्मालाई पनि आफ्नै समूहको दाबी गरेको छ । पदाधिकारीपछि केन्द्रीय सदस्यको मतगणना जारी रहेको पार्टी कार्यालयले जनाएको छ ।