पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो: डा कोइराला
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष

काठमाडौं, २ पुष । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा भए पनि पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेसजन र नेपाली जनताको घरदैलोमा पु¥याएको बताएका हुन् ।

‘पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो’, उनले भने । पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउनका लागि ऊर्जावान युवालाई लिएर आफू अगाडि बढेको कोइरालाको भनाइ थियो । निर्वाचनमा पराजित भए पनि राजनीति जितेको उनी बताउछन् ।

नेता कोइरालाले ४० प्रतिशत प्रतिनिधिले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति आफू अविचलित रहने उल्लेख गर्दै पार्टीलाई रुपान्तरण र नयाँ ढङ्गले सञ्चालन गर्नका लागि आफ्नो सम्पूर्ण टोली लाग्ने विश्वास व्यक्त गरे ।

विज्ञप्तिमा पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिएको तथा परिवर्तनको पक्षमा उभिएकाले मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गरेको छ ।

प्रतिक्रिया