सर्वदलीय बैठक बोलाउने तयारी, क्रिकेट खेलाडीमाथि गरिएकोे कार्बाहीबारे ध्यानाकर्षण
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष

काठमाडौं, २ पुष । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तामा भएको छ ।

शुक्रबार विहान बालुवाटारमा भएको भेट भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका हुन् ।

सोही छलफल अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अर्को बैठक पुस ६ अघि नै आइतबार वा सोमबार बैठक बोलाउने तयारी गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएकोे कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए । प्रचण्डको सिचवालयका अनुसार अध्यक्ष प्रचण्डले क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।

जवाफमा प्रधानमन्त्री देउवाले यो कारबाहीबारे आफूले बुझ्ने बताएका छन् । गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो ।

प्रतिक्रिया