उत्तर कोरियामा ११ दिनसम्म हाँस्न प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष

काठमाडौं, २ पुस । सुन्दा पत्यार नलाग्ला । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार उत्तर कोरियामा हाँस्न प्रतिबन्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँस्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन रोक लगाइएको हो ।

समाचारमा उल्लेख गरिएअनुसार उत्तर कोरियाली पूर्वनेता किम जोङ इलको १०औँ पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले आफ्ना पूर्वनेता इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउँदैछ ।

उत्तर कोरियामा शोकको यो अवधिमा हाँस्न, खुशी मनाउन तथा मदिरापान गर्न पूर्ण रुपमा रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शोकको अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन भनिएको छ ।

सरकारी आदेश उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको बताइन्छ । उत्तर कोरियामा हाल किम जोङ इलका छोरा किम जोङ उनले शासन गरिरहेका छन् ।

प्रतिक्रिया