सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी, बाँकी पाँच क्लस्टरको मतगणना आज
अखबार टुडे
प्रकाशित:
२०७८, २ पुष

काठमाडौं, २ पुुुष । नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याउए । महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बजर भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नाएको छ ।

यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनी २ हजार २१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरे । दलिततर्फ कूल चार हजार ६७० मत खसेको थियो ।

त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गरे । आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो ।

कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् । आठमध्ये हिजो तीन वटा क्लस्टरको नतिजा आएको हो । अब बाँकी रहेका मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस÷आर्यतर्फका सहमहामन्त्रीका लागि आज बिहानदेखि मत गणना गरिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा खस÷आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा छन् । यी हरेक क्लस्टरबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया