विश्वास र जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नेछु: गगन थापा
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष

काठमाडौं, १ पुष । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसङ्गत ढङ्गले सुदृढ बनाएर लैजाने बताएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘महाधिवेशनमा मलाई महामन्त्री पदको जिम्मेवारी दिलाउने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु । यो विश्वास र जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नेछु ।’

परिवर्तनका सम्वाहक युवाको भरोसाको पार्टी बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उनले महामन्त्रीमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिलाई एक दिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन नदिने विश्वास दिलाए ।

उनले आफूसँग निर्वाचित भएका पदाधिकारीसँग मिलेर पार्टी सभापतिलाई काम गर्न तागत पु¥याउने र पार्टीलाई व्यवस्थित बनाउने उल्लेख गरे । मत धेरै पाउनु भनेको विश्वास पनि धेरै पाउनु हो भन्दै उनले परिपक्व ढङ्गबाट जिम्मेवारी निर्वाह गर्ने बताए ।

यस्तै, नवनिर्वाचित अर्का महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तनको यात्रामा दुई युवालाई महामन्त्रीमा विजयी गराई रूपान्तरणको आकांक्षालाई महाधिवेशनको मतले प्रकट गरेको बताए । देशले दुई युवा महामन्त्रीले हल बाँधिएर काम गरुन् भन्ने अपेक्षा गरेकाले आफू सोहीअनुसार अगाडि बढ्ने उद्घोष गर्दै उनले निर्वाचनको प्रतिस्पर्धा सकिएकाले अब काममा प्रतिस्पर्धा गरेर देखाउने बताए ।

निर्वाचनबाट निश्चित व्यक्तिको विजयभन्दा पनि बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उनले उल्लेख गरे । आफूलाई फरकफरक समूहबाट पनि आएका मतको कदर गर्ने विश्वास दिलाउँदै महामन्त्री शर्माले रूपान्तरित कांग्रेस बनाई आगामी निर्वाचनमा विजयी गराउने लक्ष्यका साथ अगाडि बढ्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया