विपीले कल्पना गरेको जस्तो कांग्रेस कलकल बगिरहोस् : डा रिजाल
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष

काठमाडौं, १ पुष । रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडी बढ्न सुझाव दिएका छन् ।

शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित भएकाले उनका लागि यो महत्वपूर्ण अवसर रहेको बताउँदै डा रिजालले विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिए । उनले बग्रेल्ती चुनौती र अद्भुत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि बताए ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनर्फत महाधिवेशनमा निकै ठुलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको घोषणा गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएर मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

‘नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिकरूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको छ’ु, डा रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामापत्रमा उल्लेख छ ।

उनले महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले आफूलाई कांग्रेसको सदस्यका रूपमा जसरी उपयोग गर्न चाहन्छ, त्यो उचित लाग्यो भने त्यही किसिमले अगाडि बढ्ने नत्र आफ्नो बाटो आफैँ रोज्दै जाने पनि बताए । विसं २०२५ सालदेखि नै विपी कोइरालालाई आदर्श मान्दै आएको भन्दै उनले आउने दिनमा राजनीतिमा रहे पनि र नरहे पनि काम गर्दा त्यो ऊर्जामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए । आगामी दिनमा कसरी जाने भनेर अहिले नै निर्णयमा भने पुगिनसकेको बताए ।

प्रतिक्रिया