कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष

काठमाडौं, १ पुष । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएका हुन् ।

गगनले महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन् । उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ । कूल ४६८२ मत खसेको थियो ।

महामन्त्री पदका अरु उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले १,४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।

शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की उम्मेदवार थिए ।

महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भइसकेका छन् । उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् । महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया