‘महाधिवेशनले महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ’: नेत्री कोइराला
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष

काठमाडौं, ३० मंसिर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् ।

कांग्रेसको उपसभापतिमा पराजित भएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताएकी हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘कांग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा स्थान पाएको छ’,। नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।

उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधँै प्रेरित रहेको जनाउँदै पार्टी र देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताइन् । नेत्री कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी भएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् ।

प्रतिक्रिया