खड्का र गुरुङ कांग्रेस उपसभापतिमा निर्वाचित, गच्छदार २ मतले पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, १ पुष

काठमाडौं, १ पुष। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य छन् । यसैगरी खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा शेखर कोइराला ‘प्यानल’को उम्मेदवार थिए ।

उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित भएका छन् । सभापति देउवा ‘प्यानल’ कै उनले १ हजार ९०६ मत प्राप्त गरेका थिए । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई आज बिहान १ बजे सम्पन्न भएको थियो ।

सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये चार हजार ६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।

प्रतिक्रिया