राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडीलाई कारबाही, सन्दीपलाई कप्तानको जिम्मेवारी
अखबार टुडे
प्रकाशित:
२०७८, २९ मंसिर

कठमाडौं, २९ मंसिर । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ ।

बुधबार बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई नियुक्त गरेको हो । क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ ।

क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरेबमोजिम खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले उनीहरूलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकमा सुरुआती छ महिना सहभागी नगराउने निर्णयसमेत लिएको छ । ज्ञानेन्द्र सन् २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए ।

खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको भन्दै ज्ञानेन्द्र मल्लसहित केही वरिष्ठ खेलाडीको गुनासो रहेको थियो । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टीकरणसमेत सोधेको थियो । खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले खेलाडीलाई कारबाही गरेको हो ।

त्यसैगरी क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी पुस ६ गतेदेखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया