जनयुद्धकालमा प्रचण्डले ज्ञानेन्द्रसङ्ग गोप्य सहमती गरेको ओलीको आरोप, अस्थिरताका सम्वाहकको संज्ञा
अखबार टुडे
प्रकाशित:
२०७८, २९ मंसिर

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको समयमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच गोप्य सहमति भएको र सोही सहमितको आधारमा ज्ञानेन्द्रले उधुम मच्चाएका आरोप लगाएका छन् ।

बुधबार नेकपा एमालेका मनोनति केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले भने, ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भयो । त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले देशभर अभिनन्दन कार्यक्रम चलाए । लोकतान्त्रिक शक्तिलाई रुकुम–रोल्पामा पाइला टेक्न नदिने, नेताहरु जान नपाउने, त्यहाँ भएको नेता मारिने, ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत हुने । यो प्रचण्ड–ज्ञानेन्द्रबीचको सहमतिले सम्भव भएको थियो ।’

अध्यक्ष ओलीले प्रचण्ड–ज्ञानेन्द्रबीच भएको सहमितको बलमा प्रचण्डले प्रकृयावादी शक्तिसँग साँठगाँठ गर्दा देश त्यसको सिकार भएको र अहिले पनि देश त्यसको मारमा रहेको ओलीले आरोप लगाए । ओलीले भने, ‘बाहिर क्रान्तिका कुरा, बाहिर राष्ट्रयताका कुरा, बाहिर एक खालका परिवर्तनका कुरा, भित्रभित्र प्रतिकृयावादीसँग साँठगाँठ । त्यसको सिकार नेपाल हुने गर्यो, हामी अहिले पनि त्यसको मार खाइरहेका छौँ ।’

अध्यक्ष ओलीले प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् । नेपालमा अस्थिरता मचाउन खोज्ने नियन्त्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको ओलीले आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘नियन्त्रित अस्थिरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।’ कतिपयले अझै पनि कम्युनिष्ट एकताको कुरा गरिरहेको भन्दै ओलीले भने, ‘त्यस्ताहरुसँग एकता ? अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहिँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।’

ओलीले उनीहरुको सम्बन्ध कहाँ छ भन्ने कुरा आफूले राम्ररी चिनेको बताए । उनले भने, ‘हामीले राम्ररी चिनिसकेका छौं यिनीहरुको कनेक्सन कहाँ छ, तार कहाँ जोडिएको छ, कहाँबाट स्वीच अन अफ हुन्छ, त्यो हामीले छर्लङ्ग देख्या छौं ।’

कार्यक्रममा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनितले ओलीबाट सपथ लिएका छन् । मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू छन् भने ३७ जना नयाँ छन्। यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो ।

प्रतिक्रिया