वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो पारेको भए सच्याउन तयार छौं: अर्थमन्त्री शर्मा
अखबार टुडे
प्रकाशित:
२०७८, २९ मंसिर

काठमाडौं, २९ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको बताएका छन् ।

बुधबार नेपाल उद्योग बाणिज्य महासङ्द्धारा राजधानीमा आयोजित नवउत्थान सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘वित्तीय बजारमा कतै सरकारको नीतिले अफ्ठेरो पारेको छ भने सिधै भन्नुहोुस्, राष्ट्र बैंँकमा प्रतिनिधि पनि हुनुहुन्छ, यहीँ समाधान गर्ने गरी हामी निर्णय गर्न तयार छौँ ।’

अर्थमन्त्री शर्माले विस्तारै आर्थिक क्षेत्र चलायमान हुँदै गएको स्मरण गर्दै यस क्षेत्रमा अझै ठुलो प्रभाव पर्नसक्ने अबस्थालाई समेत मध्यनजर गरी मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले श्रोत र श्रमसमेतलाई ध्यानमा राखेर अर्थतन्त्रलाई एउटा लयमा पु¥याउनु पर्ने बताए । उनले आफ्नो आवश्यकता, क्षमता र सम्भव प्रतिष्पर्धात्मक क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्नेमा जोड दिए । ‘सबैमा प्रतिष्पर्धा गर्न सकिन्न, स्वयं आत्मनिर्भर र प्रतिष्पर्धामा जानसक्ने क्षेत्र कुनकुन हुन्, नयाँ ढङ्गबाट त्यसको अध्ययन गर्नुपर्छ, त्यसैमा केन्द्रित भएर लगानी वृद्धि गर्ने कुरा आजको आवश्यकता हो’, अर्थमन्त्री शर्माले भने ।

मुलुकमा अहिले देखिएको तरलताको समस्याले व्याज वृद्धि हुने खतरा कायमै रहेको उल्लेख गर्दै उनले भने, ‘यसलाई बजारमा छाड्ने की नियमन गर्ने भन्ने कुरा गम्भिर प्रश्न छ, महासङ्घको धारणा के हो ? हामीलाई के सुझाव दिनुहुन्छ, त्यसको प्रतिक्षामा छौँ ।’ उनले क्षमतावान बनाउन र तरलताको समस्या आउन नदिन के नीति चाहिने हो प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्थालाई समेत आग्रह गरे ।

महिनौँदेखि तरलता अभावका कारण बैंँकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा उनले सरकारका कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने विश्वास दिलाए ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले लगानी वृद्धि गर्ने र व्यवसायलाई आकर्षित हुने गरी राज्यको नीति बनाउनुपर्नेमा जोड दिए । उनले विस्तारै अर्थतन्त्रमा केही सकारात्मक प्रभाव शुरु भएपनि कोभिड–१९ को त्रास कायमै रहेकाले आर्थिक क्षेत्रमा सरकारको आवश्यक सहयोगको खाँचो औँल्याए ।

प्रतिक्रिया