काठमाडौं, २९ मंसिर (एजेन्सी) । माल्टाले व्यक्तिगत प्रयोगका लागि गाँजालाई वैधानिकता दिने कानुन पास गरेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।
संसदबाट पारित भएको कानुनलाई त्याहाँको राष्ट्रपतिले प्रमाणित गरेका छ । नयाँ कानुनअनुसार १८ वर्ष माथिका नागरिकले ५० ग्रामसम्म सुख्खा गाँजाको भण्डारण गर्न सक्नेछन् भने घरमा चारवटा सम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ । सात ग्रामसम्म गाँजा साथमा लिएर हिँड्न अनुमति दिइनेछ ।
संसदमा नयाँ कानुनका पक्षमा ३६ र विपक्षमा २७ मत परेको थियो। नयाँ कानुनले सार्वजनिक स्थल र १८ वर्षमूनिका केटाकेटीका सामू भने गाँजा तान्न प्रतिबन्ध लगाएको छ । योसँगै, माल्टा गाँजालाई वैधानिकता दिने पहिलो युरोपेली देश समेत बनेको छ । नयाँ कानुन यसै हप्ताबाट लागु हुने बताइएको छ ।
माल्टाका मन्त्री ओवेन बोनिचीले गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता दिँदा आपराधीकरण घट्ने र मानिसले औषधिको रुपमा समेत सजिलै प्रयोग गर्न पाउने भएकाले खुसी लागेको बताएका छन् । संयुक्त राष्ट्रसंघले गएको वर्ष नै गाँजालाई अति खतरनाक लागुपदार्थको सूचीबाट हटाएको थियो ।
युरोपका अन्य देशमा पनि गाँजालाई वैधानिकता दिने विषयको बहस चर्किएको छ । सन् २०२२ मा युरोपका धेरै देशले गाँजाको वैधानिकताबारे निर्णय गर्ने सम्भावना रहेको छ । इटलीमा आउँदो वर्ष गाँजा प्रयोगको विषयमा जनमत संग्रह नै गर्ने तयारी रहेको पनि गार्जियनले जनाएको छ ।