काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानमा उनले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् ।
सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएको हो । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।
पुनः मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी भएका हुन् ।
को हुन् शेरबहादुर देउवा ?
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।
विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो छन् । विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थए ।
विसं २०४८ मा गृहमन्त्री बनेएका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएको थियो ।
सोही वर्ष असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उहाँलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थए ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएर जनताको विश्वास जित्नुभएको थियो । उनकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उहाँ सभापति बन्नुभयोे । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उहाँ काँग्रेसको वरिष्ठ नेता भएका थिए ।
त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उहाँ तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । सभापति एवं पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराएका थिए ।
सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै असार २८ गते पुनःस्थापनाको फैसलाका साथ उहाँलाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।
सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएको छ ।
यस्तो छ पराजित कोइरालाको राजनीतिक यात्रा
१४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर पराजित भएका शेखर कोइरालाको सक्रिय राजनीतिक जीवन भने देउवाको जस्तो लामो छैन । यद्यपि उनले विभिन्न समयमा दिएका अन्तर्वार्ताहरूमा कांग्रेसका संस्थापकमध्येका एक बीपी कोइराला जीवित हुँदैदेखि भूमिगत रूपमा राजनीतिक क्रियाकलापमा आफू सक्रिय भएको बताउने गरेका छन् ।
कोइराला परिवारमा राजनीतिमा खासै सक्रिय नभएका केशव कोइराला र राजनीतिमा सक्रिय नेतृ नोना कोइरालाका पुत्र शेखर राजनीतिक वृत्तमा २०४६ सालको परिवर्तनपछि मात्र देखिन थालेका हुन् । उनी धेरैले देखिने र सम्झने गरी राजनीतिमा आएका चाहिँ राजा ज्ञानेन्द्रले सत्ता लिएका बेलादेखि हो ।
त्यस बेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सूचनावाहक भएर माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गर्ने सुत्रधारको भूमिका उनले निभाएका थिए । १२ बुँदे दिल्ली सम्झौताका बेलामा समेत कोइराला र कांग्रेस नेता कृष्ण सिटौलाको सक्रियता निकै रहेको बताइन्छ ।
भारतमा चिकित्सा विज्ञान अध्ययन गरेका उनी पेसाले चिकित्सक हुन् । विराटनगरस्थित कोइराला निवासको आँगनै अगाडि अवस्थित कोशी अस्पतालमा काम गरेका उनले कुनै बेला आफ्नै क्लिनिक समेत चलाएका थिए । पछि उनी भारतीय सहयोगमा धरानमा निर्मित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो उपकुलपति बने ।
उपकुलपति पद छाडेर राजनीतिमा होमिएका कोइरालाले पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङबाट चुनाव लडेका थिए । तर सुरुमा पराजित भएका उनले सोही क्षेत्रबाट उपनिर्वाचनमा विजय हासिल गरे । कोइराला परिवारभित्रै पनि गिरिजापुत्री सुजाता र बीपीपुत्र शशांकसँग खासै मत नमिल्ने व्यक्तिका रूपमा उनलाई धेरैले बुझ्ने गरेका छन् ।
नोना कोइरालाको अवसानपछि गिरिजाप्रसाद र गिरिजाप्रसादको अवसानपछि सुशील कोइरालाले शेखरलाई राजनीतिक रूपमा अघि बढ्नबाट रोक्ने कार्य गरेको बुझाइ छ । हालको महाधिवशेनमा पनि सुजाता उनी विरुद्धको गठबन्धनमा स्पष्ट रूपमै खुलेर लागिन् भने भाइ शशांकले पनि शेखरलाई खुलेर समर्थन गरेनन् ।
त्यस्तै सुशील कोइराला सभापति रहँदैदेखि पार्टीको संस्थापन पक्षको नेताका रूपमा रामचन्द्र पौडेललाई अघि सार्ने शेखरले पौडेलको निर्वाचनस्थलमा भौतिक उपस्थितिको नैतिक सहयोग समेत पाएनन् । कतिपयका विश्लेषणमा कुनैबेला सबै कोइरालाहरू एक छौँ भनेर सार्वजनिक रूपमै एक स्थानमा उभिने कोइराला परिवारका तीन नेताहरूबीच मत नमिल्दा शेखरले यसपटक सभापतिमा बाजी मार्ने अवस्था रहँदा रहँदै त्यो मौका चुकाएका छन् ।
यद्यपि हालसम्म मन्त्री समेत नबनेका र कांग्रेसकै उच्च पदमा नपुगेका ७१ वर्षे कोइरालाले देउवालाई दिएको टक्कर उनको राजनीतिक भविष्यका लागि फलदायी हुनसक्ने कतिपयको विश्वास छ । अघिल्लो महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका कोइराला एघारौँ महाधिवेशनपछि लगातार केन्द्रीय सदस्य भए पनि उनी पार्टी पदाधिकारी हुन सकेका थिएनन् ।