विद्यार्थी र अस्थायी बसोबास अनुमति पाएका विदेशी नागरिकलाई प्रवेश दिने अस्ट्रेलियाको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, २८ मंसिर

काठमाडौं, २८ मंसिर (एजेन्सी) । अस्ट्रेलियाले विदेशी विद्यार्थी र अस्थायी बसोबासका लागि भिसा पाएका विदेशी नागरिकका लागि डिसेम्बर १५ तारिख अर्थात् भोलिदेखि सीमा खुला गर्ने निर्णय गरेको छ ।

यसअघि अस्ट्रेलियाले विद्यार्थी र अस्थायी बसोबास भिसा रहेका विदेशी नागरिकहरूलाई डिसेम्बर १ अर्थात् दुई हप्ताअघि नै सीमा खोल्ने निर्णय गरेको भए पनि ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि भोलिसम्मका लागि बन्द गरेको थियो ।

प्रधानमन्त्री मरिसनले भोलिदेखि भने अन्तर्राष्ट्रिय सीमा खोल्ने बतााएका हुन् । भोलिदेखि विदेशी विद्यार्थीका साथै अस्थायी बसोवास भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरूका अभिभावक र दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।

प्रधानमन्त्री मोरिसनका अनुसार क्रमशः अन्य प्रतिबन्धात्मक व्यवस्थालाई थप खुकुलो पार्दै लगिने बताएका छन् । अष्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरि भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको प्रधानमन्त्री मोरिसनले जानकारी दिए ।

अस्ट्रेलियाको केन्द्रीय सरकारले झन्डै २० महिनादेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । न्यु साउथ वेल्स, भिक्टोरिया र राजधानी रहेको क्यापिटल क्षेत्रमा तीन दिन तथा अरू राज्यमा १४ दिन क्वरेण्टीन अनिवार्य छ । पूर्ण मात्रा खोप र तीन दिनभित्रको कोरोना नेगेटिभ रिपोर्ट सबै राज्यमा अनिवार्य रहेको बीबीसीले जनाएको छ । अष्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ ।

प्रतिक्रिया