हृदयेश त्रिपाठीले गठन गरे ‘जनता प्रगतिशील पार्टी’
अखबार टुडे
प्रकाशित:
२०७८, २८ मंसिर

काठमाडौं, २८ मंसिर । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलनमा नयाँ दल गठन गरेको जानकारी दिंदै त्रिपाठीले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीन वटै अङ्ग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताए ।

पूर्वमन्त्री त्रिपाठीले अन्य दलको आलोचना नगरि काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने बताए । पूर्वमन्त्री त्रिपाठीले भने, ‘देशमा पार्टीको अभाव भएर यो नयाँ दलको गठन भएको होइन, अपितु वैचारिक बहस प्रायः शून्य भएको वर्तमान अवस्था तथा राज्यका तीन वटै अङ्ग प्रभावविहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिन्छ । अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ प्रतिस्पर्धामा हाम्रो रूचि रहने छैन । वर्तमान परिदृश्यमा दलहरूबीच न्यूनतम साझा विषयमा राष्ट्रिय सहमतिको नितान्त आवश्यक्ता छ । यसले नै लिक बाहिर पुगेको राजनीतिलाई फेरि सही बाटोमा ल्याउनेछ र संविधानलाई चलायमान बनाउने छ ।’

पूर्वमन्त्री त्रिपाठीले एमसीसी लगायतका विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए । त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण,स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताए ।

त्रिपाठीको नयाँ पार्टी घोषणा कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, राजनीतिक विश्लेषक तुलनारायण साहलगायत उपस्थित थिए ।

प्रतिक्रिया