काठमाडौं, २८ मंसिर । अमेरिकीे महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्व चिकित्सक डा. ल्यारी नासरको यौन दुर्व्यवहारबाट पीडित महिलाहरुले ठुलो क्षतिपूर्ति रकम पाउने भएका छन् ।
नासरले दुर्व्यवहार गरेका सयौँ महिलाहरूले ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् । अमेरिकी खेल जगतमा हङ्गामा ल्याएको उक्त यौन काण्डमा पाँच वर्षको कानुनी लडाईपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो ।
क्षतिपूर्तिको त्यस्तो सहमति यौन दुर्व्यवहारका घटनामा अमेरिकामा भएको ठूलोमध्येको एक हो । नासरले दुर्व्यवहार गरेको भन्दै उनीमाथि यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीका ३३० जनाभन्दा धेरै महिलाहरूले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । नासिरले आफूहरूलाई पटक पटक बलात्कार गरेको ओलम्पिक्स विजेता खेलाडीलेसमेत गुनासो गरेका थिए ।
यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको थियो । तर, पछिल्लो सहमतिमा यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन् ।